काठमाडौं — भन्सार विभागले चालू आवको चैत मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रु ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार बराबरको खाद्यान्न आयात भएको छ ।
गत वर्ष सरकारले केही कृषिउपजमा आत्मनिर्भर भएको घोषणा पनि ग¥यो । तर भन्सार विभागको तथ्याङ्कले भने सो दाबीलाई समेत गलत सावित गरिदिएको छ । जमिन बाँझो राखेर विदेशी मुद्रा खर्चेर, धान, चामल, गहुँ र कोदो आयात भइरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।
विभागका अनुसार चालू आवको चैत मसान्तसम्म रु १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य बराबरको ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ । त्यसबाट सरकारले रु ७५ करोड चार लाख बराबरको राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै धानको बीउ मात्रै रु २४ करोड ८३ लाख ६९ हजार बराबरको कूल १६ लाख ९९ हहजार ७८९ केजी आयात भएको छ । चामलको अवस्था पनि उस्तै छ । नेपालीको स्वभाव अनुसार भात नै खानुपर्ने आवश्यकताका कारण चामल आयात उल्लेख्य रुपमा वृद्धि भएको छ । विभागका अनुसार चैत मसान्तसम्म रु १९ अर्ब १९ करोड ८२ लाख ९५ हजार बराबर मूल्यको ३७ करोड २० लाख ८७ हजार ४११ केजी सेमी पोलिस चामल आयात भएको विवरण छ ।
यसैगरी पोलिस नगरिएको रु चार अर्ब ४९ करोड ६३ लाख ९५ हजार बराबरका छ करोड तीन लाख ५८ हजार ४५३ केजी चामल आयात भएको तथ्याङ्क छ ।
पन्ध्र अर्बको मकै आयात
विभागको विवरणानुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म रु १५ अर्ब बढीको मकै आयात भएको देखिन्छ । कूल ४० करोड ३१ लाख ३३ हजार ८१३ केजी मकै सो अवधिमा नेपाल भित्रिएको छ । त्यसको लागत मूल्य मात्रै रु १३ अर्ब ९९ करोड ३९ लाख ४१ हजार बराबर रहेको छ ।
यसैगरी सोही अवधिमा एक करोड ४८ लाख ७७ हजार ९९९ केजी मकैको बीउ आयात भएको छ । त्यसको लागत मूल्य रु एक अर्ब पाँच करोड ६६ लाख ६० हजार बराबर छ । मकैको आयातबाट सरकारले रु ७९ करोड ४४ लाख ३८ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
दुई करोडको कोदो
नेपालको जलवायु कोदोखेतीका लागि उपयुक्त छ । तर कोदोखेती हुने जमिन बाँझो रहँदा नेपालीले रु दुई करोड ७१ लाख २० हजार बराबरको आयात गरेको विवरण विभागले सार्वजनिक गरेको छ । चालू आवको चैत मसान्तसम्म कूल आठ लाख पाँच हजार ७०७ केजी कोदो आयात भएको देखिन्छ । त्यसबाट सरकारले रु १३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।
पाँच अर्बको गहुँ आयात
विभागको विवरणानुसार गहुँको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै रु पाँच अर्ब २७ करोड ७९ लाख ७३ हजार बराबरको १५ करोड ९८ लाख ८३ हजार ४३८ केजी गहुँ आयात भएको छ । यस्तै बीउका रुपमा सात लाख ९७ हजार ८० केजी गहुँ आयात भएको छ । त्यसको लागत मूल्य रु २९ लाख ९६ हजार बराबर छ । जुनेलोसमेत नेपालीले किनेर खान थालेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
नौ महिनाका अवधिमा ६५२ केजी जुनेलो आयात भएको छ । त्यसको लागत मूल्य रु ३५ हजार बराबर छ । त्यतिमात्रै होइन मकैको स्वाद भएका खाद्य उपजकोसमेत आयात भएको देखिन्छ । त्यस अवधिमा रु दुई करोड २९ लाख ३८ हजार बराबरको पाँच लाख ६० हजार ३६५ केजी त्यस्तो खाद्य पदार्थ आयात भएको छ । यो विवरणका आधारमा नेपाल क्रमशः परनिर्भर बन्दै गएको देखिन्छ ।