काठमाडौं– आसन्न ‘स्थानीय तह निर्वाचन–२०७९‘ सफलतापूर्वक सम्पन्न गर्न प्रधान सेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल बीच छलफल भएको छ ।
नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरू तथा अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागीता रहेको उक्त कार्यक्रममा युद्धकार्य निर्देशनालयका निर्देशकले आउँदो ‘स्थानीय तह निर्वाचन–२०७९“ को लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्नुपर्ने विषयहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
साथै, उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरूबीच ‘स्थानीय तह निर्वाचन–२०७९“ स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरूलाई प्राप्त जिम्मेवारीहरू आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।