काठमाडौं— चन्द्रागिरी नगरपालिका —२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले एक युवालाइ प्रकाउ गरेको छ । प्रहरीले आइतबार बिहान धनुषा जनकनन्दनी गाउँपालिका— २ घर भएका २३ वर्षीय हेमन्त यादबलाई पक्राउ गरेको हो ।
प्रहरीले ती युवाको साथमा ४ सय एम्पुल डाइजेपाम, ४ सय एम्पुल फेनारगन, ४ सय एम्पुल नुफिन र ४ सय एम्पुल तरल पदार्थ फेला पारको बताएको छ । जनकपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा—१ प १२३२ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
उदयपुरमा एक प्रकाउ
उदयपुर, चौदण्डीगढी नगरपालिका —६ बरगाछी चोक बस्ने ३० वर्षीय रेगन राईलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध ३ एम्पुल डाइजेपाम, ३ एम्पुल फेनारागन, ३ एम्पुल लुपिजेसिक, १ थान खाली सिरिन्ज, २ थान मोबाईल, नगद ७ हजार ३ सय ७५ रुपैयाँ बरामद गरेकाे छ ।
उनको कोठाबाट करिब ८ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो, २ ग्राम ४३ मिलिग्राम चरेस जस्तो देखिने डल्लो र ५० ग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९ १२:५९