काठमाडाैं - नेपाल वायुसेवा निगमले गर्ने गरेकाे काठमाडौं–नारिता उडानमा भएकाे गुनासोमा ध्यानाकर्षण गरेकाे छ । यात्रुलाइ तोकिएको मूल्य भन्दा बढी भाडा लिई टिकटहरु विक्रि वितरण गर्ने बिचाैलियाकाे बिगबिगी भएकाे गुनासोमा निगमले ध्यानाकर्षण गर्दै नियमानुसार कारवाही हुने विज्ञप्तीमार्फत ध्यानाकर्षण गरेकाे हाे ।
नेपाल वायुसेवा निगमले गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्य भन्दा बढी मूल्य लिई टिकटहरु विक्रि वितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने यसै विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।
हाल काठमाडौं–नारिता सेक्टरमा सातामा ०२ (दुई) वटा उडान गरिरहेकोमा मे १, २०२२ देखि आइतबार, मंगलबार र शुक्रबार गरी साताको ०३ (तीन) उडान सञ्चालन गर्ने व्यहोरा जानकारी गराइन्छ । उक्त सेक्टरमा जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुहरु मात्र बोक्न पाइने हुनाले यात्रु चाप एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेको छ ।
जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको छ । काठमाडौैं–नारिता सेक्टरमा करसहित विजनेश क्लासमा रु. १,५२,०००।– र इकोनोमी क्लासमा रु. १,१९,७००।– भाडादर कायम गरिएको छ ।
यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रुहरुलाई प्रमाण सहित निगममा उजुरी गर्नुहुन निगमले अनुरोध गरेकाे छ। निगमका अनुसार काठमाडौं–नारिता सेक्टरमा सिट संख्या बढाउन नेपालस्थित जापानी राजदुतावासलाई अनुरोध गरिसकिएको व्यहोरा जनाइएकाे छ ।
काठमाडौं–नारिता सेक्टरमा माग अत्याधिक रहेको तर सिमित सिट संख्यामा उडान गर्नु पर्ने र माग बमोजिमको आपूर्ति हुन नसकेको कारणले यात्रुहरुमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी भएकाे जनाएकाे छ ।