काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन । उसले हालसम्म पाँचपटक आइपिएलको उपाधि उचालेको छ । यो सुन्दा र जारी सिजन मुम्बईको प्रदर्शन हेर्ने हो भने एका देशको कथा जस्तो लाग्ने अवस्था देखिएको छ ।
आइपिएलको सर्वाधिक सफल र धेरै उपाधि जितेको टोलीले अहिले तालिकाको पुच्छारमा रहेको छ, त्यो पनि जितविहीन । यो आकडाले मुम्बईलाई गिज्याइरहेको छ । उसले आइतबार राति भएको आठौं चरणको खेलमा पनि जित निकाल्न सकेन, र जितविहीन यात्रा आठ खेलसम्म पुर्यायो ।
दश टोली सहभागी यो पटकको प्रतियोगितमा हरेक टोलीले १८ वटा खेल खेल्नुपर्ने छ । लगातारको खराब प्रदर्शनले र जितविहीन मुम्बई लिग चरणबाटै बाहिरिने खतरासमेत बढेको छ । उसले अब हुने खेलमा चमत्कारी प्रदर्शन गरेरमात्रै पुग्दैन, अन्य टोलीको प्रदर्शन पनि आफूअनुकूल आउनुपर्ने हुन्छ ।
मुम्बई आइतबारको खेलमा लखनउ सुपर जायन्टसँग ३६ रनले पराजित हुन पुग्यो । यो सँगै मुम्बई यस सिजन लखनउसँग दोस्रो पटक पराजित भएको हो । मुम्बईविरुद्धको दुवै खेलमा लखनउका कप्तान लोकेश राहुलले शतक प्रहार गरे । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि कप्तान तथा ओपनर राहुलले अविजित १०३ रन योगदान दिए । ६२ बल खेलेका राहुलले १२ चौका र ४ छक्का प्रहार गरे । मनिस पाण्डेले २२ रन जोडे ।
मुम्बईका रिले मेरेडिथ र काएरन पोलार्डले समान दुई÷दुई विकेट लिए । डानिएल साम्स र जसप्रित बुमराहले समान एक–एक विकेट लिए । १६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३२ रनमात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ र तिलक बर्माले ३८ रन जोडे । पोलार्डले १९ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मुम्बईका सस्तैमा रोक्ने क्रममा लखनउका क्रुनाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए । उनी मुम्बइका पूर्वखेलाडी हुन् । यस्तै मोहसिन खान, जेसन होल्डर, रवी बिश्नोइ र आयुष बडोनीले समान एक÷एक विकेट लिए । जितपछि लखनउ आठ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जितविहीन मुम्बई १०औं स्थानमा छ ।