काठमाडौं– इंग्लिस क्लब चेल्सी तथा जर्मनका डिफेन्डर एन्टोनियो रुडीगर स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित हुने भएका छन् । रुडीगर यो सिजनको अन्त्यसँगै रियल जाने भएका हुन् ।
उनको चेल्सीसँगको सम्झौता यो सिजनको अन्यमा समाप्त हुँदै छ । त्यसपछि उनी स्पेन लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । २९ वर्षीय डिफेन्डरले यसअघि १२ मिलियन युरोको माग राखेपछि रियल सम्झौता गर्नका लागि पछि हटेको थियो । तर, अहिले उनी यस विषयमा लचक बनेपछि रियलमा उनको अनुबन्धन हुने भएको बताइएको छ ।
रियलसँगै युरोपका शीर्ष क्लबले समेत पछिल्लो समय उनीमाथि चासो दिइरहेका थिए । तर, रियल उनलाई क्लबमा ल्याउन सफल भएको बताइएको छ । पछिल्लो समय चेल्सीले उनीसँग सम्झौता नवीकरण नगर्ने देखेपछि युरोपका धेरै क्लबले उनीमाथि नजर राखेका थिए । चेल्सीसँगको सम्झौता सकिएका कारण उनी फ्रि एजेन्टमार्फत सित्तैमा रियल जाने भएका छन् ।
रियल र रुडीगरबीच प्रारम्भिक सहमति भइसकेको जनाइएको छ । समाचारमा जनाइएअनुसार रुडीगर र क्बलबीच यसै साता लिखित सहमति हुने सम्भावना छ । फिफाले सम्झौताको अन्तिम छ महिना बाँकी रहँदा अन्य क्लबसँग सम्झौता गर्न पाउने नियम राखेको छ । यसअघि रियलले बायर्न म्युनिखबाट डेभिड अलाबालाई पनि सित्तैमा अनुबन्ध गरेको थियो ।
रियलका इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले टोलीको डिफेन्स बलियो पार्न लामो समयदेखि उनलाई क्लबमा ल्याउने प्रयास गरिरहेका थिए । पछिल्लो समय च्याम्पियन्स लिगमा रुडीगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसका कारण धेरै क्लबले उनलाई अनुबन्धन गर्नका लागि प्रयास गरेका थिए । चेल्सीका प्रशिक्षक थोमस टुचेलले पनि रुडीगरले क्लब छाड्ने पक्का भएको बताए ।