काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रेफ्री संघको अध्यक्षमा बुद्धिबहादुर गुरुङ निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सादोबाटोमा सोमबार भएको साधारणसभाबाट गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
संघको नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा श्रीराम रञ्जितकार, विनोद केसी र मधुसुदन खनाल निर्वाचित भए । यस्तै संघको सदस्यमा शैलेश जोशी, वीरेन्द्रबहादुर पाण्डे, नवीन्द्र महर्जन, श्रवणकुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै संघको महिला सदस्यमा कल्पना शर्मा निर्वाचित भएकी छन् । नवनिर्वाचित कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रमाणपत्र वितरण गरेका थिए । एन्फाको केन्द्रीय निर्वाचन आगामी ६ असारमा हुँदै छ । केन्द्रीय निर्वाचनअघि विभिन्न संघको निर्वाचन भइरहेको छ र सोहीअनुसार रेफ्री संघको निर्वाचन भएको हो । आइतबार भएको खेलाडी संघको अध्यक्षमा विक्रम लामा चयन भएका थिए । उनी पनि सर्वसम्मत अध्यक्ष चुनिएका थिए ।