काठमाडौं - परिवर्तन नेपालले ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेत्री मिथिला शर्मालाई दिने निर्णय गरेको छ । संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिइएको छ ।
मिथिलासँगै २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई दिने निर्णय गरेको छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफू र आफ्ना पति हरि शमशेरको नाममा अक्षयकोष राखी स्थापना गेरेकोे ‘हरितारा चलचित्र पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।
‘चार दशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेसाकर्मीको हकहितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्याउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै यस पुरस्कार अभिनेत्री शर्मालाई दिन लागेको हो,’ परिवर्तन नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरस्कार २५ हजार रूपैयाँ राशिको रहेको छ ।
यसैगरी २०७८ सालको ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज केसीलाई दिने भएको जानकारी दिइएको छ । यो पुरस्कार जनही १०–१० हजार रूपैयाँको रहेको छ । पुरस्कार र सम्मान आगामी जेठको दोस्रो हप्ता विशेष समारोहको आयोजना गरी वितरण गरिने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९ ०८:१५