काठमाडौं - मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका चार वटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धरापानीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन द्रुत गतिमा सबस्टेसन निर्माण भइरहेको हो ।
नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । यस्तै, खुदी सबस्टेसन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धारापानी सबस्टेसन निर्माण तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।
भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले धारापानी सबस्टेसनको निर्माणमा केही समय लाग्ने बताइएको छ ।नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२० र १३२ केभी, ३२० एमभीए र २२० र १३२ केभी, १६० एमभीए तथा १३२ र ३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरू रहने जनाइएको छ ।
दुवै सबस्टेसनका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा छ भने उपकरणहरूको जडान भइरहेको छ ।खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०र१३२ केभी, १६० एमभीए तथा १३२र३३ केभी, ५० एमभीए र २२०र१३२ केभी, १०० एमभीए तथा १३२र३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन् ।
खुदी सबस्टेसनको मुख्य सिभिल संरचनाहरू निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन निर्माणमा भइरहेको प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग विस्तृत छलफल गरी जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेसन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे ।
उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरूलाई समाधान गरी प्रसारण लाइन निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएको छ । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उनले प्रतिवद्धता जनाए ।