काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । क्यानले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल टी–२० प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो ।
यसका लागि क्यानले दुई महिना अगाडि नै राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनुमति पाएको विज्ञप्तिमा जनाइएको छ । भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नेपाल टी–२० लिगको रणनीतिक र कर्मसियल साझेदारीको रूपमा रहनेछ । क्यानले नेपाल टी–२० आयोजना गर्न यसअघि नै सेभेन थ्री स्पोर्ट्ससँग आठ वर्षका लागि ३३ करोड रूपैयाँको सम्झौता गरेको छ । सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता १० वर्ष भए पनि दुई वर्ष घटाउँदै आठ वर्षमा झारेको हो ।
नेपाल प्रिमियर लिग अन्य कसैले दर्ता गराएको हुँदा नेपाल टी–२० को नामबाट आयोजना गर्न लागिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । प्रतियोगिता सेप्टेम्बरमा आयोजना गर्ने तयारी भइरहेको क्यानले जनाएको छ । यस्ता प्रतियोगिताले नयाँ र युवा खेलाडीलाई अगाडि बढाउन सहयोग पुग्ने नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताए । नेपाल टी–२० प्रतियोगिताले क्रिकेट विकाससँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा सुधार आउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विश्वास छ ।