काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघको अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा लामा ३६ मतसहित विजयी भएकी हुन् ।
निर्वाचनमा खसेको ४२ मतमा अध्यक्षकी अर्की प्रत्यासी विमला पौडेलले मात्रै छ मत प्राप्त गरेकी थिइन् । लामा एन्फा केन्द्रीय सदस्य र महिला समिति संयोजक पनि हुन् । तीन उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षकी अर्की प्रत्यासी रमा भट्टराईले मात्रै सात मत प्राप्त गरिन् ।
सात सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । जसमा निवर्तमान अध्यक्ष विन्द्रा देवा, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलुकु, सरस्वती श्रेष्ठ, लीलामाया थापा, चन्द्र भण्डारी र विना श्रेष्ठ रहेका छन् । अहिले असार ६ गते हुने एन्फा निर्वाचनका लागि एन्फा सदस्य संस्थाहरूको निर्वाचन भइरहेको छ । तीन जिल्लाबाहेक सबै सदस्य संस्थाको निर्वाचन सम्पन्न भएको छ । स्थगित सुर्खेत, गोरखा र सिन्धुलीको भने निर्वाचन केही दिनमा तोकिने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ ०८:१५