काठमाडौं - इटालियन भेट्रान डिफेन्डर तथा कप्तान जर्जियो चेलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीय चेलिनीले आउँदो जुनमा अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलपछि सन्यास लिने बताएका हुन् ।
आगामी १ जुनमा युरोकपको विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच वेम्वली रंगशालामा मैत्रीपूर्ण खेल हुने तालिका तय भएको छ । सोही खेल अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम खेल हुने चेलिनीले बताएका छन् । उनले सोमबार राति सिरी ‘ए’ अन्तर्गत युभेन्टसले सस्सुलोमाथि २–१ को जित हात पारेपछि पत्रकारसँग सन्यासको विषयमा बोलेका हुन् । ‘यदि म ठीक छु भने, म खेल्नेछु र राष्ट्रिय टोलीलाई वेम्वलीमा बिदाइ लिनेछु, अर्जेन्टिनाजस्तै उत्सवमूलक खेलको साथ राष्ट्रिय टोलीबाट गुडबाइ भन्न पाउनु राम्रो हुनेछ, राष्ट्रिय टोलीका लागि यो अन्तिमपटक हुनेछ,’ उनले भने ।
इटालीले युरो–२०२० को उपाधि जित्दा चेलिनीले इटालीको कप्तानी गरेका थिए । युरोकपको च्याम्पियनसमेत रहेको इटाली कतारमा हुने विश्वकपमा भने छनोट हुन असफल भएको थियो । उपाधिको दाबेदार र चारपटकको विश्व विजेता इटाली विश्वकपमा छनोट हुन नसकेपछि विश्वकप खेलेर सन्यास लिने उनको सपना भने अधुरै रह्यो ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ ०८:१७