काठमाडौं — शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनैतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक र कर्मचारीको नामावली सार्वजनिक गरिएको छ ।
तत्कालीन पुनरावेदन अदालतको पूर्वमुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षतामा गठित समितिले दिएको प्रतिवेदनका आधारमा नामावली सार्वजनिक गरिएको हो ।
राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारणबाट हटाइएका शिक्षक र कर्मचारीलाई गत फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
केन्द्रले सूचना प्रकाशन भएको ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । पुनर्वहाली, हाजिरी, निवृत्तिभरण तथा उपदान र एकमुष्ठ आर्थिक सुविधा पाउने देहाय बमोजिमका शिक्षकहरुले यो सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र केन्द्रले तय गरेको निवेदनको ढाँचामा विवरण भरी सो निवेदनमा उल्लेखित कागजात सहित शिक्षा केन्द्रमा निवेदन दिनुपर्ने छ ।
तोकिएको ढाँचामा निवेदन नदिने, आवश्यक कागजात संलग्न नराखी निवेदन पेश नगर्ने र तोकिएको म्याद नाघि आएको निवेदन उपर कुनै कारबाही नगरिने केन्द्रले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ ११:२३