काठमाडौं - चोरी र लुटपाटका घटना बढ्न थालेकोमा नेपाल सुनचाँदी व्यवसायी महासंघले गृह प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
देश निर्वाचनको माहौलमा होमिएको बेला सोमबार राती बुटवल उप–महानगर पालिकाको मध्यबजार अमरपथ विपि चोक वडा नं ६ स्थित दिलवहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल चोरी भएकोमा गम्भिर चासो व्यक्त गर्दै पुनः यस किसिमका घटना दोहोरिन नदिन नेपाल सुनचाँदी व्यवसायी महासंघले गृह प्रशासनमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।
कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसल छेवैको गल्लीबीचको सटर भाडामा लिई फेन्सी पसल सञ्चालन गर्दै आएका व्यक्तिले सो पसलको ताला तोडी त्यहाँ रहेको सुनचाँदीका गरगहना चोरी गरेको संघले जनाएकाे छ । संघका अनुसार पिडितका पसलबाट पाँच करोड बराबरको धनमाल चोरी भएको छ ।
गरगहना चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारवाही गर्न महासंघले माग गरेकाे छ । सुनचाँदी व्यवसायीले याे आफैंमा संवेदनशील व्यवसाय रहेकाे बताएकाे छ । यस व्यवसायको क्षेत्रमा बारम्बार चोरी, डकैती र लुटपाटका घटना हुने गरेको छ ।
हाल मुलुक नै निर्वाचनको माहौलमा होमिएका बेला चोरी र लुटपाटका घटनाहरु झनै बढ्न सक्ने भएकोले यसतर्फ थप सचेत हुन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सम्वद्ध निकायसँग महासंघले माग गरेकाे प्रवक्ता नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवत्ता मनोज कुमार साहले जनाएकाे छन् ।