नेपालगञ्ज÷राम्रो लाउने, मिठो खाने चाहना गर्नु नराम्रो होईन तर कहिले काहिं यिनै कारणले हामी ठूलै समस्यामा पर्न सक्छौं भन्ने कुराको ज्वलन्त उदाहरण हो यो घटना । स्थायी घर सर्लाही भएता पनि लामो समय देखि काठमाण्डौं–१४ मा बसोबास गर्दै आएकी सरु तामाङ्गु–२२ वर्ष (नाम परिवर्तन) र स्थायी ठेगाना काभ्रे कि निशा भण्डारी–१७ वर्ष (नाम परिवर्तन) दुवै जना मिल्ने साथी हुन् । सरुको केही समय अघाडी हेटौडा निवासी टयाक्सी चालकसंग बिहेवारी भएर ७ महिनाको सानो छोरा पनि छ ।सरु र निशा नजिक–नजिकै बस्थे । काठमाण्डौंको कालीमाटीमा तरकारी पसल संचालन गर्दै आएकी आमालाई सघाउने काम निशाले गर्थिन् भने सरु खाली बसिरहेकि थिईन् ।
सुरु र निशा बिचको दोस्ति बाक्लिंदै गयो, निशा हेर्दा राम्री भएकाले उसको पसलमा ग्राहकहरु अलि बढिनैं हुन्थे, खाली दिमाग सैतानको घर भन्ने उखाननैंछ, निशा र सरुको खाली समय महत्वाकाँक्षि गफ गर्दै बित्थ्यो । यहि क्रममा एक दिन झण्डै २५ वर्षकी शर्मिला नाम गरेकी युवति तरकारी पसलमा आईन् र भनिन्“होईन, कति दिन यसरी तरकारी बेचेर बस्छौ ? मैले चिनेको एकजना दिदी दिल्लीमा हुनुहुन्छ, उहाँले तिमिहरु जस्ता कति धेरै केटीहरुलाई काममा लगाई सक्नु भएको छ, के तिमीहरु राम्रो काम गरी पैसा कमाउन चहान्छौ ?”
यो कुरा सुन्ने बित्तिकै निशा बोली हालिन, “हुन्छ नि दिदी” । यति कुरा गरी रहँदा संगै रहेकी सरुले चाहिं सोधिन, “दिदी काम चाहिं के गर्नु पर्ने हो ? अनि मलाई पनि कुनै काम पाईएला?”। यो कुरा सुनेर शर्मिलाले भनिन, “ल, किन न हुनु निशा चाहिं डान्सबारमा काम गर्छे र तिम्रो बच्चा सानो भएकोले तिमीलाई चाहिं बच्चा हेर्ने काममा राखी दिउँला, हँुदैन?”यति भनेर फेरी उनले भनिन–तर यदि तिमीहरु राजी छौ भने घर सल्लाह गरीहाल हामी भोली नै हिंडनु पर्ने हुन्छ, र पैसाको चिन्तै नगर सबै खर्च म बेहोर्छु, र जाने भए पछि भोली बेलुका ५ बजे कलंकीमा भेट्नु ।
निशा र सरु अचम्म मान्दै थिए किनकी उनीहरु संग शर्मिला भन्नेको केही सम्पर्क थिएन, कसरी भेट्ने होला भन्ने कुरा सोच्दा सोच्दै उनीहरुको ध्यान घरतिर मोडियो, कारण समस्या भनेको घर परिवारबाट सहमती कसरी लिने भन्ने रह्यो । सरुको सानो बच्चा काखमा थियो भने निशा र उनकी आमा बिच मेलमिलाप भन्दा पनि एकले अर्कालाई देखि खान नसक्ने व्यहार गर्दै आएका थिए, सजिलै अनुमति पाईने छाँट–काँट थिएन, तर पनि दुवै जनाले निधो गरे, कुरा गरौं नमानेको खण्डमा झगडा गरी पनि हिंड्ने ।
नभन्दै घर परिवारले स्विकृति दिने कुरै भएन र दुवै जना आफ्नो परिवारसंग झगडा गरी जसरी पनि शर्मिलासंग काम गर्न जान तयार भई पछिल्लो दिनको साँझ ५ बजे कलंकी चोकमा पुगे । शर्मिलाले भने बमोजिम उनीहरु नेपालगञ्ज हिँड्ने गाडीमा चढे ।
साउन २४ गते साँँझ ६ बजे कलंकीबाट गाडी चढी दिउँसो करिब १२ बजे नेपालगंजको पुष्पलालचोक पुगे पछि तीनै जना गाडी बाट झरे । उनीहरुलाई शर्मिलाले ईण्डियाकी नुतन भन्ने व्यक्तिले लगेर जाने बताईन् । तर नुतन नेपालगञ्ज आईनन् । उनलेआईएमईबाट केही रकम पठाएपछि उनीहरु पुनः नेपालगंज बाट कोहलपुर फर्के र एउटा लजमा दुई ओटा कोठा लिएर बसे ।
साउन २६ गते बिहान खाजा खाएर उनीहरु नेपालगञ्ज पूगे, नेपालगञ्ज पूगेपछि शर्मिलाले दुई युवतिलाई “म मोटरसाईकलमा रुपैडिया आउँछु, तिमीहरु पनि त्यहिँ पुग, म तिमीहरुलाई त्यहिँ भेट्छु र तिमीहरु अगाडी पुग्यौ भने नुतनलाई फोन गर्नु, ऊ बोर्डरमा आई पुगेकी हुन्छे, र कसैले तिमीहरुलाई सोध्यो भने, औषधि गर्न जान लाको भन्नु” भनिन् । यसो भन्दा सरु र निशा सशंकति भए तर सशंकति भएर पनि के गर्नु उसैको आड, भरोशामा आएपछि उसले भनेको नमान्नुको बिकल्प थिएन ।
उनीहरुले भने बमोजिमनैं गरे । माईक्रो चढेर रुपैडिया तर्फ जाँदै गर्दा मानव वेचबिखन बिरुद्ध क्रियाशिल संस्था के. आई नेपालको निगरानीमा यि दुई चेलीहरु परे । संस्थाका कर्मचारीहरुले सोधपुछ गर्दा उनीहरुले शंकास्पद कुरा गरे । उनीहरुसँग अलि लामै कुराकानी भएपछि उनीहरुले साँचो कुरा गरे । प्रहरीको सहयोगमा उनीहरुलाई दलाललाई पक्राउ गर्ने संस्थाको प्रयास सफल हुन सकेन ।
यस घटना पश्चात निशा र सरु स्तब्ध छन्, उनीहरु बिना आधार कसैलाई विश्वास गर्दा समस्यामा परेको बताउँछन् । उनीहरुलाई सँस्थाले परिवारको जिम्मा लगाएको छ ।