काठमाडौं— गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ । आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको विमानस्थलमा यसअघि वैशाख १ गते नयाँ वर्षको दिन गर्ने भनिएको परिक्षण उडान रोकिएको थियो ।
बिहीबार भने नेपाल वायुसेवा निगमको ३३० एयरबसले परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने जानकारी दिए ।
यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको उनले बताए ।
बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले पनि आउने कार्यक्रम तय गरिएको उनले जानकारी दिए ।
परीक्षण उडानको लागि यसअघि नै प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर र अन्य प्राविधिकहरूलाई अष्ट्रियाको भियना र एरो थाईका प्राविधिकहरूले परीक्षण उडानको लागि उपकरण सञ्चालनसम्बन्धी तालिम दिइसकेका छन् । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङका सामान पनि यसअघि नै विमानस्थलमा ल्याइसकेको छ ।
अन्तर्राष्ट्रिय उडानको लागि समेत अब १६÷१७ दिनमात्रै बाँकी रहेकोले विमानस्थलभित्र पार्टेसन, फर्निचर व्यवस्थापन तथा अध्यागमन कार्यालयले समेत आवश्यक तयारीको काम गरिरहेको रावतले जानकारी दिए । नेपाल वायुसेवा निगमको जहाजबाट परीक्षण उडान भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नियमित उडानका लागि प्रस्ताव आह्वान गर्नेछ ।
यसअघि थाइल्याण्डको एरो थाई कम्पनीले फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो ।
यान्त्रिक परीक्षण उडान सफल भएपछि सबभन्दा पहिलोपटक कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएको थियो ।
सोही अनुसार जजिराले जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जजिरासँग हप्ताको तीन दिन उडान गर्ने गरी सम्झौता गरिसकेको छ ।
यस्तै, अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा, श्रीलंकन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले पनि चासो देखाएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई पहिलो ६ महिना ल्याण्डिङ र पार्किङ शुल्कमा शतप्रतिशत र दोस्रो ६ महिनामा ५० प्रतिशत छुट दिने योजना प्राधिकरणको छ । ७३ वर्ष अघि २००६ सालदेखि सुरू गरिएको देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो बन्दै गएपछि त्यसको विकल्पको रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाइएको थियो ।
ठेक्का सम्झौता गर्दा निर्माण सुरू गरेको तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि २०७१ सालमा शिलान्यास गरिएको यो विमानस्थल ७ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो । भौतिक पूर्वाधार निर्माण र प्राविधिक उपकरण जडानको काम गरी दुई चरणमा निर्माण गरिएको विमानस्थलका लागि एसियाली विकास बैंकले ऋण अनुदान उपलब्ध गराएको हो ।
चिनियाँ निर्माण कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब ८२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा विमानस्थलको भौतिक संरचना निर्माण गरेको थियो भने थाइल्याण्डको एरो थाई कम्पनीले ५० करोड लागतमा मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका उपकरण जडान र परीक्षणको काम सम्पन्न गरेको थियो ।
यसअघि एक हजार पाँच सय मिटर लामो धावनमार्ग रहेको यो विमानस्थलमा अहिले तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग निर्माण गरी शुभारम्भ समेत भइसकेको छ। विमानस्थलमा भौतिक संरचना निर्माण, उपकरण जडान, परीक्षण, विमानस्थल आसपासको जग्गा अधिग्रहणका लागि बुझाइएको मुआब्जा लगायत गरी ३० अर्बभन्दा बढी लगानी भएको छ।
विमानस्थल निर्माणको लागि आसपासका करिब २३ सय घरधुरीलाई मुआब्जा वितरणमा मात्रै २२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा निर्माण गरिएको यो विमानस्थल निर्माणका लागि नेपाल सरकारको ३७ दशमलव ४ र एसियाली विकास बैंकको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ। २०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलको क्षेत्रफल २०६१ सालसम्म जम्मा ८४ विघा ३ कठ्ठा थियो।
अहिले आइपुग्दा यसको क्षेत्रफल १० हजार ५ सय रोपनी पुगेको छ। जुन अहिले रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा धेरै क्षेत्रफल हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले आगामी ५० वर्षसम्मको अन्तर्राष्ट्रियस्तरको उडान र अवतरणलाई थेग्ने गरी निर्माण गरिएको यो विमानस्थलबाट अब बोइङ ७७७, एयरबस ३३० सम्मका जहाज सहजै उडान र अवतरण गर्ने बताए ।
जेठ २ गते विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएपछि सुरूमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने प्राधिकरणले लक्ष्य लिएको दाहालले बताए ।
विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आएपछि एकसाथ प्रतिघण्टा करिब ४ सय ५० जना यात्रुले सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १६:५२