कुनै पनि सेवाप्रदायक निकायले आफ्ना सेवाहरू अनलाइन प्रणालीमा रूपान्तरण गर्नु सुखद् पक्ष हो । यसले सेवाग्राहीको समयको बचत मात्र हुँदैन कार्यालयमा हुने भीडभाड र झण्झट पनि कम गर्छ । कतिसम्म भने कार्यालयको सरसफाइमा पनि यसले टेवा पुग्छ । सेवाप्रदायक कार्यालयको काम चुस्त बनाउन प्रविधिको प्रयोग गर्नु निकै वैज्ञानिक हो ।
हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौं भन्दै गर्दा यसको प्रयोगमा छौं कि छैनौं भन्ने कुरा महत्वपूर्ण रहन्छ । यसलाई हामीले जीवनमैत्री बनाउन सक्यौं कि सकेनौं भन्ने कुराको पनि अर्थ रहन्छ ।खासगरी सेवाग्राहीको धेरै चाप हुने कार्यालय, निकाय र संस्थाका सेवाहरू अनलाइन प्रणालीमा रूपान्तरण गर्नु आवश्यक छ । अहिले धेरैले यसतर्फ आफूलाई रूपान्तरण पनि गरेका छन् ।
सायद यही कुरालाई मध्यनजर गरेर हुनुपर्छ वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पूर्णरुपमा अनलाइन प्रणालीमा लगेको छ । व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति यसअघि नै अनलाइन प्रणालीमा लगेको विभागले संस्थागत श्रम स्वीकृतिलाई पनि केही दिनअघिदेखि अनलाइनमा लगेको छ ।
तर, यसका बारेमा जानकारी नहुँदा, प्रयोगको विधिबारे जानकारी नहुँदा सेवाग्राहीले दुःख पाउन थालेको गुनासो बढ्न थालेको छ । वास्तवमा कुनै पनि चिजको प्रयोगको सान्दर्भिकता, त्यसको उपयोग विधिबारे त्यसका सेवाग्राही जानकार हुँदैनन् तब त्यो सेवा निष्प्रभावी बन्न सक्छ । कुनै पनि व्यक्ति जन्मिँदै सबै कुरा सिकेर आएको हुँदैन ।
व्यक्तिले समयक्रमसँगै, आफ्नो हुर्काइसँगै धेरै कुरा सिक्दै जान्छ । एक दशक अघिसम्म मोबाइल प्रयोगबारे समेत मानिसमा जानकारी कमै थियो । तर, अहिले हात हातमा मोबाइल पुगेको छ । मोबाइलमात्रै पुगेको छैन त्यसबाटै गर्न सकिने धेरै सेवा र सुविधा हातैमा पुगेको छ । मानिसहरू मोबाइललाई जीवनको अभिन्न अंग बनाउन थालेका छन् ।
त्यसकारण वैदेशिक रोजगार विभागले पनि आफ्नो अनलाइन प्रणालीबारे आमजनले जानकारी पाउने गरी बताउनुपर्छ । त्यसको प्रयोग कसरी गर्ने, समस्या आए के गर्नेजस्ता विषयमा सेवाग्राहीलाई जानकारी दिनुपर्छ । अभिमुखीकरण गर्नुपर्छ ।
व्यवसायीहरुले अनलाइन प्रणालीलाई प्रभावकारी नबनाएका कारण समस्या भोग्नुपरेको गुनासो गरिरहेका छन् । अनलाइन प्रणालीले सुविधाभन्दा समस्या थपिदिएको उनीहरुको भनाइ छ । अनलाइन प्रणालीमार्फत श्रम स्वीकृतिका लागि समय धेरै लाग्ने गरेको व्यवसायीहरू बताउँछन् । भौतिक उपस्थितिभन्दा अनलाइनबाट सेवा प्रदान गर्न छरितो हुने भनेरै विभागले अनलाइन प्रणाली लागू गरेको हो । यो सराहनीय कार्य पक्कै हो ।
तर, कार्यालयमै उपस्थित भएर सेवा लिँदाको भन्दा अनलाइन प्रणालीबाट बढी समय लाग्ने हो भने त यसको अर्थ रहँदैन । त्यसकारण अनलाइन प्रणालीलाई छरितो र व्यवस्थित बनाउनैपर्छ । अनलाइन प्रणाली व्यवसायीको सहजता र कार्यालयको सेवा छरितो बनाउनका लागि ल्याइएकोमा दुईमत छैन ।
तर, पहिले दुई दिनमा हुने कामका लागि अहिले एक हप्ता खर्चिनुपर्ने अवस्था आउनु पक्कै सुखद् होइन । यसमा ध्यान दिनैपर्छ । अब विभागले अनलाइन प्रणालीलाई व्यवस्थित गरेर सेवाग्राहीमैत्री बनाउनुपर्छ । त्यसो हुँदा मात्र कार्यालयले तय गरेको उद्देश्य पूर्ति हुनेछ । लक्ष्य भेटिनेछ । यसमा विभागको ध्यान जाओस् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ १७:२९