काठमाडौं - नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम (e-SIM : embedded SIM Card) उपलब्ध गराउने भएको छ ।
आइतबार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दबीच ई–सिम उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो ।
सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई–सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने बताईएको छ ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा ई–सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै नै प्रारम्भ हुने विश्वास व्यक्त गरेकी छन् ।
अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई–सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९ २०:००