भनिन्छ, राजनीति पनि समाजको ऐना हो । राजनीतिक नेतृत्व समाजका ‘आइडल’ हुन् । उनीहरूले गर्ने व्यवहार, उनीहरूको बोली जनताले हेरिरहेका हुन्छन् । नेताहरू कहाँ जान्छन्, कोसँग भेट्छन्, के बोल्छन्, के गर्छन् आदि इत्यादि कुरा आमजनको चासो हुन्छ । उनीहरू यसलाई नियालिरहेका हुन्छन् । भलै तत्काल प्रतिक्रिया नदेलान् ।
कुनै पनि राजनीतिक दलका नेताहरूले विपक्षीको आलोचन गर्नु स्वाभाविक हो ।
आफ्ना मुद्दालाई स्थापित गर्न विपक्षीले बोकेका मुद्दामाथि आलोचना गर्नुलाई राजनीतिक रूपमै स्वीकार्न सकिन्छ । तर, हाम्रा नेताहरू कस्ता भए भने विपक्षी नेता र पार्टीप्रति निकै अनुदार । निकै तल्लो स्तरमा झरेर गैरराजनीतिक टिप्पणी, लाञ्छना र गालीमा रमाउन थाले ।
मंगलबारमात्रै काठमाडौंमा भएको एउटा कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरूप्रति अराजनीतिक टिप्पणी गरे । उनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले हालै सार्वजनिक गरेको घोषणापत्रप्रति कटाक्ष गर्दै ‘पागलहरूको प्रलाप’ भन्दै हियाए । यो अभिव्यक्तिले कुनै अमुक स्वास्थ्य समस्यासँग गुज्रिरहेकाहरूको आत्मसम्मानमा ठेस पुग्ने काम त गर्यो नै एउटा नेताले हामीलाई कस्तो संस्कार सिकाइरहेका छन् भन्ने चिन्ता पनि थप्यो ।
ओलीले यसरी आफ्नो पार्टी र घोषणापत्रप्रति टिप्पणी गरेपछि कांग्रेसका नेताहरूले मंगलबार नै जवाफ फर्काए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै एमालेको जस्तो ‘उडन्ते सपनाहरूको गफको पुलिन्दा’ लेख्न कांग्रेसलाई नआएको बताए । ओलीकै अभिव्यक्तिको जवाफ दिन बुधबार अर्का महामन्त्री गगन थापाले कार्यक्रम नै गरे । जहाँ उनले पनि ओलीप्रति कटाक्ष गरे । बूढो हुँदै गएको उनको शरीरमाथि टिप्पणी गरे ।
कुनै नेताले विपक्षीप्रति आक्षेप लगाउनु र अर्को पक्षले त्यसको खण्डन, प्रतिवाद गर्नु राजनीतिमा सामान्य रूपमै लिन सकिएला । तर, हामी आक्षेप पनि कस्ता लगाउँछौं, प्रतिवाद कसरी गर्छौं, जवाफ कसरी फर्काउ“छौं भन्ने कुरा निकै अर्थपूर्ण रहन्छ । माथि पनि चर्चा ग¥यौं कि राजनीति समाजको ऐना हो । राजनीतिज्ञ आइडल हुन् । जहा“ राजनीतिक चित्र र चरित्र प्रस्ट देखिन्छ ।
अरूको अनुहारमा लागेको धुलो औंल्याउ“दै गर्दा हाम्रो अनुहारको फोहोर के गर्ने ? यसतर्फ नेताहरू सचेत हुनैपर्छ । हामीलाई आदर्श मानेको पुस्ता वा साना नानीहरूले हाम्रा भाषण, टिप्पणी, अन्तर्वार्ता हेरेर, सुनेर के सिक्छन् भन्ने कुरामा सचेत हुनैपर्छ । हामी उनीहरूका अघोषित पथप्रदर्शक हौं । उनीहरूले हाम्रै अनुशरण गर्ने हुन् ।
अहिले त झन् चुनावको चटारो चलिरहेको छ । राजनीतिक दल र उम्मेदवारहरूका दैनिक सभा, सम्मेलन भइरहेका छन् । त्यहाँ उनीहरूले आफ्ना योजनाहरू सुनाउनुपर्ने हो । आफूलाई भोट किन हाल्ने र निर्वाचित भएपछि के गर्छु भन्ने कुराको विश्वासयोग्य आधारसहित जनतामा जानुपर्ने हो । तर, हाम्रा नेताहरू गालीलाई प्राथमिकता दिइरहेका छन् । आलोचनामा समय खर्चिरहेका छन् । यसले क्षणिक आनन्द र रमाइलो त प्रदान गर्ला तर, दीर्घकालीन रूपमा हित गर्दैन ।
जनतालाई आफूप्रति आकर्षित गर्न योजना सुनाउनुहोस् । त्यसको मार्गचित्र देखाउनुहोस् । जनतालाई विश्वस्त हुने आधार दिनुहोस् । जनतालाई ‘कन्भिन्स’ गर्नुहोस् । तर, नेताज्यू † गालीको राजनीति बन्द गरिदिनुहोस् । गालीको राजनीतिले न समाज सभ्य बन्छ, न देश । तसर्थ, सभ्य समाज निर्माणका लागि पनि गालीको राजनीति बन्द गरौं ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १३:२०