काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आधिकारिक उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहमा लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउन अपिल गरेका छन् ।
लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको भन्दै आज एक अपिल जारी गरेका हुन् ।
संविधानविरोधी तथा लोकतन्त्रविरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरेर स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गर्न जाेड दिएका छन् ।
मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउनुपर्ने सभापति देउवाको भनाइ छ ।
मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात गरी यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने निर्णय भएको थियो ।
पाँच दलीय गठबन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै कांग्रेसकै नेतृत्वमा पाँच दलका बीचमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी तालमेलको निर्णय कार्यान्वयन गर्न केन्द्रीय कार्यालयमार्फत पार्टीका देशभरका सातवटै प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति र सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको अपिलमा उल्लेख छ ।