ललितपुर— ललितपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ४ उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानविन चलिरहेको छ ।
उनीहरुमाथि उजुरी परेपछि ती उम्मेदवारसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले जवाफ मागेको थियो ।
उनीहरुले जवाफ समेत दिएकोले आज त्यसबारे अध्ययन गरेर निर्णय गरिने ललितपुरका मुख्य निर्वाचन अधिकृतले बताएका छन्।
ललितपुर महानगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुख पदका लागि उम्मेदवारी दिएका चिरिबाबु महर्जन विरुद्ध उजुरी परेको थियो ।
उनले यसअघि नगर प्रमुखको कार्यकालमा छँदा महानगरपालिकामा बेरुजु रहेको भन्दै उजुरी परेको हो । महर्जनले यसबारे जवाफ दिइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्य विरुद्ध ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका थिए । २०७४ सालको प्रदेशसभा निर्वाचनमा शाक्यको नाम समानुपातिक तर्फको बन्द सूचीमा रहेको र सो नाम नहटाई उपमेयरमा उम्मेदवारी दर्ता गरेको भन्दै उजुरी परेको हो ।
यी लगायत अन्य २ उजुरीमाथि छानविनको काम भइरहेको र आज साँझसम्म यसबारेमा निर्णय दिइने मुख्य निर्वाचन अधिकृत सिवाकोटीले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १३:२८