काठमाडौ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। नयाँ सञ्चालक समितिको गठन गर्दै बुधबार इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा चौथो वार्षिक साधारण सभा काठमाण्डौंको होटल र्याडिसनमा सम्पन्न भएकाे हाे ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेकाे इन्स्योरेन्स कम्पनीले जनाएकाे छ । इन्स्योरेन्स कम्पनीका अनुसार उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरेकाे छ ।
कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएकाे जनाइएकाे छ ।
सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पँहुच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पुर्याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।
सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १४:०२