काठमाडौं– राष्ट्रिय फुटबल टोलीको बन्द्र प्रशिक्षणबाट बाहिरिएका खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीका कारण क्याम छाडेको बताएका छन् । विद्रोह गरेका खेलाडीले बिहीबार पत्रकार सम्मेल गर्दै प्रशिक्षक मलमुताइरीले पटक पटक क्याम छाडेर जान भने पछि बाध्य भएर बाहिरिनु परेको बताएका हुन् ।
राष्ट्रिय टिमको प्रशिक्षण छाडेका खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले आफूहरूलाई ‘तिमीहरूले युद्ध सुरु गर्यौ म अन्त्य गर्छ’ भनेर धम्क्याएको आरोप समेत लगाएका छन् । प्रशिक्षण छाड्नुको कारण सार्वजनिक गर्न भन्दै गरेको पत्रकार सम्मेलनमा उनीहरूले गास र बासको सामान्य माग राख्दा पनि प्रशिक्षकले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्ने चेतावनी दिएको बताएका छन् । उनीहरूले निकालेको विज्ञप्तिमा भनिएको छ ‘उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो, उहाँले अन्त्यमा तिमीहरूले युद्ध सुरु ग¥यौ म अन्त्य गर्छ‘ भन्नुभयो ।’
पत्रकार सम्मेलनमा १० जना खेलाडीले अलमुताईरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन गाह्रो रहेको बताएका छन् । सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै उनीहरूले यही प्रशिक्षक रहेमा टिममा फर्किन नसकिने बताए । अखिल नेपाल फुटबल संघ एन्फको सातदोबाटोस्थित होस्टलमा बस्न धेरै नै समस्या रहेको भन्दै आफूहरूलाई होटलमा बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा प्रशिक्षकले रोहित चन्दलाई निकाले पछि खेलाडी र प्रशिक्षक बीच विवाद बढेको थियो ।
रोहीतको विषयमा कुरा गर्न खोज्दा ‘उहाँले छाडेर जाओ भन्नुभयो’, खेलाडी अनन्त तामाङले भने, ‘अब यही कोच रहँदासम्म प्रशिक्षणामा बोलाए पनि हामीलाई गाह्रो हुन्छ,’ उनले भने । प्रशिक्षकले मैदान भित्र नभइ मैदान बाहिर पनि समस्या निकालेको उनको आरोप छ । ‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई दबाब दिइयो,’ उनले थप ।
‘हामीले कोच हटाउनुपर्छ भनेका छैनौं । तर हामीलाई उहाँको अण्डरमा खेल्न गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न, हामीलाई पनि हुन्न,’ रोहित चन्दले भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ ०८:०६