एजेन्सी– रिलिजअघि नै धेरै चर्चा र प्रतीक्षा गरिएको फिल्म हो, केजिएफ च्याप्टर टु । एक हप्ताअघि रिलिज भएकोे केजिएफले उत्कृष्ट ओपनिङ गरेको थियो । फिल्मले २०० करोड भारतीय रूपैयाँ (भारु) बराबरको व्यापार पहिलो हप्तामा नै गरेको थियो ।
दोस्रो हप्तामा चलिरहँदा यस फिल्मले ३०० करोड भारूको व्यापार गरेको छ । बक्स अफिसको रिपोर्टअनुसार फिल्मले पहिले रिलिज भइसकेका हिन्दी डब फिल्म आरआरआर, साहो, पुष्प, बहुबलीजस्ता उत्कृष्ट फिल्मलाई कमाइकोे हिसाबले पछि पारिसकेको छ । अहिले धेरै व्यापार गर्ने फिल्ममा केजिएफ दोस्रो स्थानमा छ । पहिलो स्थानमा बहुबली–२ रहेको छ ।
सिनेमा हलहरूमा केजिएफको प्रदर्शन जारी नै छ । नयाँ फिल्म ‘जर्सी’ रिलिज भएसँगै केजिएफलाई असर पर्ने अनुमान गरिएता पनि फिल्मको व्यापारमा खासै असर नगरेको निर्माणपक्षले जनाएको छ । केजिएफ च्याप्टर–२ को व्यापार दोस्रो हप्तामा पनि स्थिर रहने र ३५० करोड भारुको नजिकसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ ०८:१०