काठमाडौं - नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो ।
नर्भिकले चैत महिनाभरि पनि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरेको थियो । सर्वसाधारणबाट माग आएपछि पुनः आउने शनिवार पनि यूरोलोजीकै निःशुल्क ओपिडी सेवा संचालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ ।
यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध भएको जनाइएको छ । यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ ।
नर्भिक अस्पतालको निःशुल्क ओपिडी सेवा लिन नाम टिपाउन चाहनेले कल सेन्टरको नम्बर ५९७००३२ र ह्वाट्स वा भाइबर ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने जनाएकाे छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १६:४१