वैशाख ३० गतेका लागि तय स्थानीय तह निर्वाचन आउन अब १२ दिन बाँकी छ । जसका लागि निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारेको छ भने उम्मेदवार र राजनीतिक दलहरूले पनि प्रचारप्रसारलाई तीव्र पारेका छन् । निर्वाचन कार्यक्रमअनुसार नै आयोगले शनिबार उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ ।
दलीय उम्मेदवारले सम्बन्धित दलकै चुनाव चिह्न पाएका छन् भने बागी र स्वतन्त्र उम्मेदवारले लौरी, भूँइकटहर, गुलाफको फूल, खसीको टाउको, बिरालो, खरायो, जेब्रा, भालु, अर्ना, कंगारू, बँदेल, काग, चील, हाँस आँप, केरा, लालटिन, मुढा, घण्टाघर, ग्यास सिलिण्डर, प्रेसर कुकर, गिलास, चुलेसी र कपप्लेटलगायतका चुनाव चिह्न पाएका छन् ।
चुनाव चिह्न पाएसँगै अब प्रचारप्रसारको काम झन् तीव्र हुनेछ । नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार‘ पनि भन्ने गरिएको हुँदा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ ।
बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ ।
अघिल्ला निर्वाचनहरू सम्झिने हो भने निर्वाचन प्रचारप्रसारका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुन्छन् । मतदातालाई प्रभावमा पार्ने, धम्की दिने, प्रलोभन देखाउनेलगायतका गतिविधि हुन सक्छन् । चुनाव प्रचारप्रसारका क्रममा फरक-फरक उम्मेदवारका समर्थकबीच अस्वस्थ प्रतिस्पर्धा हुने, झैझगडा हुने र ज्यानै जानेसम्मका घटना भएका इतिहास छन् ।
त्यसकारण अब थप चनाखो हुनुपर्ने बेला आएको छ । आजदेखि चुनाव प्रचारको काम तीव्र हुने भएकाले यस्ता अवाञ्छित गतिविधि बढ्ने सम्भावना रहन्छ । यस्ता गतिविधि हुन नदिन शान्ति, सुरक्षाको भरपर्दो व्यवस्था गर्नुपर्छ । राजनीतिक दल, उम्मेदवार र तिनका समर्थकहरू संयम हुन जरुरी छ । आफ्ना नीति, कार्यक्रम, योजना र विचार प्रस्तुत गरेर मतदातालाई भोटका लागि प्रेरित गर्नुपर्छ । त्योबाहेक डर, धाकधम्की वा प्रलोभन देखाउने काम गर्नुहुँदैन । यो गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो ।
चुनावी सुरक्षामा सहयोग पुर्याउन भनेर देशभर म्यादी प्रहरी पनि भर्ना गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षाका लागि खटिने छन् । त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागले पनि निर्वाचन सुरक्षाका लागि निगरानी र रिपोर्टिङ गर्ने काम गर्नेछ ।
विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ । कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ । यसमा सबैको ध्यान पुगोस् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ११:१२