काठमाडौं- रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिबार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।
रियलको यो ३५औं ला लिगा उपाधि हो । रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियलको सहज जितमा रोड्रिगोले ३३औं र ४३औं मिनेटमा गोल गरका हुन् ।
रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि रहेकाे छ । दोस्रो स्थानमा रहेको सेभियाको समान खेलबाट ६४ र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक रहेकाे छ ।
यस्तै मार्को असेन्सियोले ५५औं र करिम बेन्जेमाले ८१औं गोल गरे । रियलले उपाधि जितेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि युरोपको पाँच लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । उनले यसअघि प्रशिक्षकको रुपमा इटालियन सिरी ए, फ्रेन्च लिग वान, प्रिमियर लिग र जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ १९:२९