काठमाडौं- काठमाडौं वर्ल्ड स्कुलको उद्योगी व्यवसायीहरुको एक समूहले अवलोकन भ्रमण गरेका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा अन्तराष्ट्रिय स्तरका गुणस्तर शिक्षा दिन स्थापित सो स्कुलमा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई भ्रमण गरेका हुन् ।
स्कुलको अवलोकन भ्रमणका लागि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा सयौं उद्योगी व्यवसायीहरु स्कुल पुगेका थिए । उनीहरुले स्कुलको भौतिक संरचनासहित विभिन्न पक्षहरुबारे बुझेका थिए । उनले उद्योग वाणिज्य संघमा आवद्ध व्यापार व्यवसायीहरुको सन्तानलाई विशेष सहुलियतमा अध्यापन गराउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेस झाले अन्तराष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिन आफूहरु सफल भएको बताएका थिए ।त्यसकारण गुणस्तरीय शिक्षाका लागि अब विदेश जान नपर्ने दाबी उनले गरे । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान अब पर्दैन, उनले थपे ।
उनले आफनो स्कुलमा देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी अध्ययन गरिरहेको जनाए । टाढाका विद्यार्थीका लागि होस्टेलमा राखेर पढाइरहेको उनले जानकारी गराए ।कार्यक्रममा स्कुलका प्रिन्सिपल केशर खुलालले स्कुलमा एक हजार दुई सय जना विद्यार्थीलाई ब्यवहारिक र गुणस्तरीय शिक्षा दिइरहेको जनाए ।
कार्यक्रममा प्रिन्सिपल खुलालले कक्षा १ देखि ९ सम्म मासिक ४३ हजार ७ सय देखि ४८ हजारसम्ममा आवासीय शिक्षा दिइरहेको बताए ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले पढ्नका लागि अब विद्यार्थीहरु विदेश जान नपर्ने बताए । काठमाडाै वर्ल्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कुल भन्दा पनि राम्रो र गुणस्तरीय देखेको भन्दै उनले खुशी साटेका छन् । भक्तपुरको गुण्डुमा रहेको यो स्कुल ठूलो क्षेत्रफलमा फैलिनुका साथै रमणीय ठाउँंमा रहेको छ । स्कुलमा चौधरी ग्रुपलगायतका ठूला घरानाको लगानी रहेको जनाइएको छ ।