आइतबार देशभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
नेपालको सन्दर्भमा पनि हरेक परिवर्तनहरूमा श्रमिक वर्गको अतुलनी योगदान छ । श्रमिक वर्गको उल्लेख सहभागिताले नै परिवर्तन ल्याउन भूमिका खेलेको बिर्सिन हु“दैन । २००७ को राणा शासनविरुद्ध, २०४६ को प्रजातन्त्र प्राप्ति तथा २०६२/६३ को जनआन्दोलनमा श्रमिक वर्गको योगदान उल्लेखनीय रहेको थियो ।
त्यसैको जगमा देशमा गणतन्त्र स्थापना भयो । संविधानसभाबाट संविधान जारी भयो । तर, संविधानमा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरियो । संविधानमा श्रम अभ्यासको हक समावेश भएको छ । श्रमिकको पारिश्रमिकको हकको सुनिश्चितता भएको छ ।
युनियन खोल्न पाउने र सामूहिक सौदाबाजीको हकको सुनिश्चितता गरिएको छ । औपचारिक र अनौपचारिक श्रमिकको भेदभाव हटाएर सबै श्रमिकलाई समान हैसियतको व्यवस्था श्रम ऐनमा गरिएको छ ।तर, संविधान र ऐनमा सुन्दर व्यवस्था गरिए पनि वास्तविकतामा भने श्रमिकको जीवन निकै कठिनपूर्ण छ ।
अहिले पनि ज्यालादारी मजदुरहरूको जिन्दगी सा“झबिहानको छाक कसरी टार्ने भन्नेमै बितिरहेछ । ठूलो किसिमको बिमार लाग्यो भने वा घरका कुनै सदस्य बिरामी परे भने आर्थिक जोहो गर्न निकै गाह्रो पर्ने स्थिति छ । संविधान र कानुनमा भएका कुरा व्यवहारमा पूर्णरूपमा लागू हुन सकेका छैनन् । अझै पनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौं श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् ।
दिनदिनै महँगी बढिरहेको छ । तर, श्रमिकको ज्याला बढेको छैन । अर्कोतिर स्वदेशमा कामको अभावमा युवा शक्ति विदेशिन बाध्य छ । श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षालगायतका श्रम अधिकार सार्थकरूपमा कार्यान्वयन हुन सकेका छैनन् । त्यसकारण, सबैभन्दा पहिले यसलाई कार्यान्वयन गर्नुपर्छ ।
विशेषगरी श्रमिक र रोजगारदाताको सम्बन्धमा आउने चिसोपनाले पनि समस्या हुने गरेका देखिन्छ । रोजगारदाताले कम सेवा सुविधामा बढी काम गराउन खोज्ने गरेका कारण समस्या हुने गरेको बताइन्छ । श्रमसम्बन्धी अन्य सुरक्षा कारण पनि यस्तो हुने गरेका पाइन्छ । खासमा रोजगारदाता र श्रमिकको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ ।
किनकि, श्रमिकविना कुनै पनि रोजगारदाता निकायको काम हुँदैन भने, रोजगारदाता निकायविना श्रमिकले काम पाउँदैनन् । यी दुईबीच अन्योन्याश्रित सम्बन्ध छ । तसर्थ, श्रमसम्बन्धी समस्याको समाधानका लागि यी दुवै पक्षबीच समझदारी नभई हुँदैन ।
औद्योगिक सम्बन्धको विकास एवं आर्थिक क्षेत्रका चुनौतीको सामना गर्न पनि रोजगारदाता र श्रमिकको सम्बन्ध समधुर हुन जरुरी छ । त्यसकारण सर्वप्रथम श्रमिकको सुरक्षा र अधिकारमा ध्यान दिन जरुरी छ । जब श्रमिकलाई सुरक्षाको प्रत्याभूति हुन्छ तब उसले आफ्ना सीप र श्रमलाई उपयोग गर्ने र निखार्ने अवसर पाउ“छ । राज्य र रोजगारदाताले यसमा ध्यान दिऔं ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १०:२२