काठमाडौं- यही ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दिएकामध्ये ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरूले उम्मेदवारी दिएका पदमा एक उम्मेदवारी परेको वा अरूको उम्मेदवारी रद्द भएर एकल उम्मेदवारी कायम हुन आएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
यसरी निर्विरोध निर्वाचित हुनेमा गाउ“पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरू छन् ।निर्वाचन आयोगले सोमबार गरेको पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
यस्तै, छ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० महिला सदस्य पदमा उम्मेदवारी नपरेको आयोगले जनाएको छ । देशभरका ७५३ स्थानीय तहमा कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ ।
६४ जिल्लामा मतपत्र ढुवानी
निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको आयोगले जानकारी दिएको छ ।
काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लाहरूमा ढुवानी गर्न बाँकी रहेको छ ।
मतपत्र ढुवानी भइसकेका जिल्लामध्ये मनोनयनपत्र दर्ता भएका उम्मेदवारको अन्तिम नामावलीसँग रुजु गर्दा निर्वाचन चिह्न थप हुन गई विभिन्न ३२ पालिकामध्ये १६ स्थानीय तहका लागि १० लाख ८० हजार मतपत्र छपाइ गर्नुपर्ने भएकामा हालसम्म नौ वटा पालिकाका लागि सात लाख ११ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।
इन्टरनेट सेवा बन्द नगर्न आग्रह
यसैबीच निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक संघ नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुनसक्ने भनी दिएको चेतावनीप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको विदितै छ ।
इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिककको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ०९:२७