यही ३० वैशाखका लागि तय स्थानीय निर्वाचनको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ । धेरै जिल्लामा मतपत्र पुगिसकेको छ । छ वटा महानगर र भक्तपुरका लागि आयोगले मतपत्र छापिरहेको छ । यी क्षेत्रमा पनि केही दिनमा मतपत्र पुगिसक्नेछ । मतदान केन्द्र र मतदानस्थलका लागि सुरक्षाकर्मीले सुरक्षाको काम अघि बढाइसकेका छन् ।
निर्वाचन आयोगले पनि उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिसकेको छ । चुनाव चिह्न वितरणपछि उम्मेदवारहरू चुनावी घरदैलोमा व्यस्त बनेका छन् । जसरी चुनावी प्रचारको क्रम बढेको छ, उति नै आचारसंहिता उल्लंघनका घटना र अन्य अवाञ्छित गतिविधि पनि बढिरहेका छन् । आयोगले निर्वाचनका लागि यसअघि नै आचारसंहिता जारी गरिसकेको छ । जहाँ निकै कडाइ पनि गरिएको छ ।
तर, आचारसंहिता पालनामा उम्मेदवार र राजनीतिक दल सचेत देखिएनन् । उनीहरूले अटेर गरेको घटनाक्रमले देखाएको छ । आयोगले आचारसंहिताविपरीत काम गरेको भन्दै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, एमालेको तर्फबाट काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापित, नेपाली कांग्रेसका नेता शेखर कोइराला र स्थापितको विरोध गर्दै विज्ञप्ति जारी गरेको गैरसरकारी संस्था ओरेकलाई पनि सचेत गराउनु नै आचारसंहितामा दल र उम्मेदवार संवेदनशील छैनन् भन्ने पुष्टि हुनु हो ।
आयोगले आचारसंहिताविपरीतका काम गरे उम्मेदवारी रद्द गर्ने चेतावनी दिएको छ । तर, अब यस्तो चेतावनीले मात्र नपुग्ने देखिएको छ । आयोग चेतावनी दिँदै जाने तर, दल एवं उम्मेदवारबाट यसको परिपालना नहुने हो भने आचारसंहिताको कुनै अर्थ छैन । त्यसकारण आयोगले कारबाही गर्नैपर्छ । चेतावनी मात्र दिएर हु“दैन । जब आयोगले कानुनअनुसार कारबाही गर्छ, तब त्यो नजिर बन्छ । अनि, आचारसंहिताविपरीतका गतिविधि गर्ने जोकोही पनि सचेत हुन्छन् ।
आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन रोक लगाएको छ । तर, दिनदिनै यस्ता गतिविधि भइरहेका पाइएको छ ।
अनुगमनका क्रममा जथाभावी पोस्टर टाँसेको, झण्डा राखेको र भित्तेलेखन गरिएको पाइएको आयोगले नै स्वीकारीसकेको छ । निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहिता, २०७८ अनुसार सार्वजनिक भवन, उद्यान तथा सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न हुँदैन ।
कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र साइनबोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न पाइ“दैन भने पनि यस्ता गधिविधिहरू भइरहेको पाइएको छ ।
त्यसकारण आयोगले यसमा कदम चाल्नैपर्छ । आयोग स्वच्छ, स्वस्थ र भयरहित वातावरणमा निर्वाचन गराउन तयार छ । आयोग कुनै पनि प्रकारको दबाब र प्रभावमा छैन भन्ने जनतालाई विश्वास दिलाउन पनि आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने सन्दर्भमा आयोग निर्मम हुनैपर्छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ०९:४७