काठमाडाैं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सको बुकक्लोज भएसँगै आज सरकारले सार्वजनिक बिदा घोषणा गरेका कारण नेप्सेले यस दिन नै मूल्य समायोजन गरेको हो।
नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ भोलि अर्थात बैशाख २१ गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनु पर्ने थियो।
नेप्सेले यस दिन फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३११ रुपैयाँ १८ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यका आधारमा फाइनान्सको मूल्य समायोजन गरेको जनाएकाे छ । सोमबार फाइनान्सको शेयर प्रतिकित्ता ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
फाइनान्सको २८ औँ वार्षिक साधारण सभाले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ ११:५६