मकवानपुर– स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हानमा सर्वपक्षीय बैठक आज हेटौंडामा सम्पन्न भएको छ ।
बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरूपले पालना गर्ने प्रतिबद्वता व्यक्त गरे ।
आचारसंहिता विपरीत झण्डा, ब्यानर बोकेर लाउडस्पिकरबाट गीत प्रचारप्रसार सामग्री बजाउँदै हिँडेको पाइएकाले कारबाहीको माग गरिएको छ । बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौंडा १७ नम्बरका वडाध्यक्षका उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले आचारसंहिता विपरीत काम गरेको आरोप लगाए ।
शिक्षक तथा कर्मचारीले आचारसंहिताको बेवस्ता गरी प्रचारप्रसार गरी हिँडेको र सामाजिक सञ्जालमा उम्मेदवारको पक्षमा भोट माग्ने गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।
यसैबीच मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारी निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको उजुरी परेकाले उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकरी दिए ।
उनीहरूको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारवहीका लागि पठाइने उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९ १३:३९