मंगलबार नेपाल पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो ।
समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको दिवसका असवसरमा सम्झना गरिन्छ । नेपालमा पनि समाचार लेखेकै कारण केही पत्रकार मारिएको इतिहास छ । अर्कोतिर, पत्रकारहरूको हकहित, सुरक्षा र पारिश्रमिकका विषयमा पटक-पटक आन्दोलन, धर्ना र विरोध प्रदर्शन भइरहन्छन् । यो अवस्था आजपर्यन्त छ ।
समाचार लेखेकै कारण पत्रकारले धम्की खेप्नुपर्ने, ज्यानको सुरक्षामाथि खतरा हुने, अनावश्यक मुद्दा, मामिलामा फस्नुपरेका कैयौं घटना छन् । डेकेन्द्र थापादेखि वीरेन्द्र साह, उमा सिंहलगायतका पत्रकारहरूले समाचार लेखेकै कारण ज्यान गुगाउनुपर्यो ।
संविधानसभाबाट जारी भएको नेपालको संविधान,२०७२ को प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रताको विषय उल्लेख छ । तर, यसको कार्यान्वयन फितलो देखिन्छ । कुनै दस्तावेजमा लेखेर मात्र प्रेस स्वतन्त्रता हुँदैन भन्ने कुरा पटक-पटकका घटनाक्रमले देखाइसकेका छन् ।
खासगरी, राजनीतिक दल, व्यापारिक घरना वा कुनै स्वार्थ समूहले पत्रकारहरूलाई सधैँ अप्रत्यक्ष/अप्रत्यक्ष प्रयोग गर्न खोजिरहेको देखिन्छ । प्रभावित पार्ने कोसिस गर्ने, अनुचित दबाब दिने, मानसिक तथा भौतिक यातना दिनेजस्ता गतिविधि भइरहेका हुन्छन् ।
कुनै पनि पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन, लेखन र प्रकाशन/प्रसारण गर्न पाउनुपर्ने हो । तर, हामीकहा“ अनेक किसिमका दबाब र धम्कीको सामना गर्नुपरेका घटना छन् । कतिपय अवस्थामा पत्रकारहरूका पनि गल्ती होलान् । उनीहरूले आचारसंहिताविपरीत काम गर्दा नियमन गर्ने, सजाय दिने कानुनी बाटो छ । त्यसको प्रक्रिया छ । त्यता नलागेर सीधै उसमाथि मानसिक र शारीरिक हमला गर्नु पक्कै पनि राम्रो होइन ।
पत्रकारको भूमिका भनेको समाजमा रहेको उपेक्षित वर्ग र समुदायका पक्षमा आवाज बुलन्द गर्नु हो । सीमान्तकृत समुदायका आवाजलाई नीति, निर्माताको तहसम्म पुर्याउन पुलको काम गर्ने हो । राज्य र सार्वजनिक ओहोदामा रहेका व्यक्तिबाट हुने अनियमितताका बारेमा लेख्ने, बोल्ने हो । अनियमितता हुन नदिने, भएमा त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नका लागि राज्यलाई घच्घच्याउने काम प्रेस जगतको हो । अर्थात्, ‘वाचडग’का रूपमा मिडिया र मिडियाकर्मीले काम गर्नुपर्छ । यो हुँदै आएको पनि छ ।
त्यसकारण पत्रकारहरूले आफ्नो धर्म छोड्नु हुँदैन । गल्ती, अन्याय र अनियमितताका विरुद्ध लेख्न, बोल्न छोड्नु हुँदैन । सार्वजनिक निकाय वा ओहोदामा रहेका व्यक्तिहरूले वा कुनै पनि पक्षबाट प्रेस स्वतन्त्रता हनन् हुने खालका कुनै पनि गतिविधि हुनु हुँदैन । यसो भएको खण्डमा प्रेस स्वतन्त्रता रहँदैन । जहाँ प्रेस स्वतन्त्रता रहँदैन, त्यहाँ निमुखाहरूको आवाज दबाइन्छ । आवाजविहीनहरूको आवाज राज्यको उपल्लो तहमा पुग्दैनन् । यसर्थ, प्रेस स्वतन्त्रता हनन् हुने कुनै पनि प्रकारका गतिविधि कुनै पनि पक्षबाट हुनुहुँदैन ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ ११:१०