झापा– पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ । विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो ।
कुनै समय पेटानी लगाउँनैपर्ने धिमाल समुदायको युवतीमा पनि पश्चिमा संस्कृतिले महत्व पाउन थालेसँगै पछिल्ला दिनमा आएर आफ्नै समुदायभित्र पनि यसको महत्व घट्दै जान थालेको छ ।
संस्कृतिजन्य प्राचीन पहिरन लोप हुँदै गएपछि आफ्नो पहिरनको संरक्षण, सम्बद्र्धनसमेतमा जोड दिँदै आएको पाइएको छ । दमक–१० मा पछिल्ला वर्ष त्यहाँका जाँगरिला महिलाले पेटानी संरक्षण गरिआएका छन् ।
उनिहरुले घरमै घरेलु उद्योगका रुपमा पेटानी तयार गरिआएको सावित्री धिमालले बताए । करिब दुई दशक अघिबाट पेटानी बन्दै आइरहेको र त्यसै सीपलाई आहिले पनि निरन्तरता दिँदैआएको उनले जानकारी दिए ।
धिमाल समुदायमा अहिले पनि पेटानीको माग धेरै रहेको छ । तर पेटानी बुन्न आवश्यक पर्ने कच्चा पदार्थको बजार मूल्य उच्च हुनु र लागत अनुरुप मूल्य नपाउने समस्या नहुँदा यस घरेलु उद्योग व्यवसायीकरण हुन नसकेकोे उद्यमी जमुना धिमालले बताए ।
उनका अनुसार एउटा पेटानी तयार गर्न तीन दिनसम्म लाग्ने गरे पनि ती पेटानी बिक्रीका लागि वजारसमेत अभाव भएको र प्रतिथान रु दुई हजारसम्ममा बिक्री गर्न बाध्य छन् ।
पेटानीको महत्व बुझेपछि विगत एक वर्षदेखि फुर्सदको समयमा पेटानी बुन्न थाल्दै आएका उनले आफ्नै समुदायभित्र पेटानीको बजार राम्रो भएकाले त्यसतर्फ आफू आकर्षित भएको बताइन् ।
यो समुदायमा शुभकार्य विवाहलगायतका उत्सव तथा पर्वमा पेटानीलाई अनिवार्यजस्तै मान्ने गरिन्छ । दुई वर्षअघि गाउँमै सिकेको सीपबाट अहिले पेटानी बुन्न उत्साह थपिदिएको दमक–१० कै पुष्पामाया धिमाल बताउछन्।
झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका धिमाल जातिका संस्कृतिजन्य पहिरन पेटानीलगायतका वेषभूषाको संरक्षण र सम्बद्र्धन गर्न संस्थागतरुपमा सहयोग पु¥याउँदै आएको धिमाल जातीय विकास संस्थाका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालले बताए।
सांकेतिक तस्विर
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ ११:३२