काठमाडौं– टी–२० सिरिजअन्तर्गत जारी अन्तिम खेलमा जिम्बाब्बे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको जिम्बाब्बेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनको योगफल तयार पार्यो ।
जिम्बाब्बे ए का लागि चौथो नम्बरमा क्रिजमा आएका रोय कियाले सर्वाधिक ४९ रनको योगदान गरे । उनले ४१ बल खेल्दै ७ चौका प्रहार गरे । ओपनर टाडिवान्से मारुमानी २७ तथा अर्का ओपनर इनोसेन्ट किया १४ रन बनाएर पभेलियन फर्किएका थिए ।
कुडाजाई माउन्जे ६ रनमा आउट भए । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान टोनी मुयोङगा २ रनमा क्याच आउट भए । ल्युक जोङ्वे २३ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालको वलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । सोमपाल कामी र बसिर अहमदले समान एक विकेट लिए ।
जिम्बावे ए विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९ १५:०९