काठमाडौं– नेपाल र जिम्बावे–ए बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।
जिम्बावेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ ।
जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।
त्यसलगत्तै नेपाल क्रिकेट संघ क्यान ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी–२० शृंखला आयोजना गरेको थियो ।
तीन ट्वान्टी(२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १/१ को बराबरी गरेको थियो ।
नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १०:३२