काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम सुरु गरिएको छ ।
जिल्लामा १३६ मतदानस्थल र ३७९ मतदान केन्द्र तोकिएको छ । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलनका रुपमा हेरिएको छ ।
मतदानस्थल र मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिए ।
तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य एवं अधिकारक्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाबारे जानकारी गराइएको उनले बताए ।
मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेल तरिकागायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा समेत सिकाइएको छ ।
तालिमको सहजीकरण मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्का, जिल्ला निर्वाचन अधिकारी रमा पन्त लगायतले गरेको छ ।
एक उप महानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिनेभएका छन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा करिब चार हजार सुरक्षाकर्मी दुई हजार २०० कर्मचारी परिचालन हुनेछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १३:५९