काठमाडाैं - एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब एपीएफबाट पराजित भएकाे छ ।
यस संस्करणमा एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब एपीएफसँग ३-० जितविहीन हुँदै बाहिरिएको हाे ।
काठमाडौंमा जारी लिगको अन्तिम खेलमा शुक्रबार न्यू डायमण्डले एपीएफसँग ३(० को सोझो सेटमा पराजय ब्यहोरेको छ ।
गत असोजमा आयोजित एनभीए लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्ड सोही आधारमा लिगका लागि छनोट भएको थियो । च्याम्पियनसिपका शीर्ष पाँच टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा गराइएको थियो ।
न्यू डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग ३-२ को सेटमा पराजय ब्यहोरेको थियो । त्यसयता तीन खेलमा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँग सोझो सेटमा पराजित भएको हो ।
राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी सेटर अरुणा शाहीले तीन वर्षदेखिको न्यू डायमण्डको आवद्धता यसै वर्षदेखि तोडिन् । मुख्य स्पाइकर प्रतिभा माली पुरानो चोट बल्झिएसँगै उपचारपछि आराममा छिन् । अर्की स्पाइकर झरना श्रेष्ठले पारिवारिक कारण देखाउँदै भलिबल छाडेपछि न्यू डायमण्ड कमजोर भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९ १५:४३