स्वदेशमा रोजगारीका अवसर नहुँदा मानिसहरू वैदेशिक रोजगारीमा जाने गर्छन् । यो क्रम कहिलेसम्म चल्ने थाहा छैन । स्वदेशमै रोजगारीका प्रशस्त अवसर हुँदा पक्कै पनि विदेशिने रहर कसैलाई हुने थिएन । रोजगारीका लागि विदेशिनु रहर नभएर कहर हो भन्न तथ्य जगजाहेर नै छ ।
स्वदेशमै रोजगारीको अवसर पाउ“दा आफ्नो परिवारसँग बसेर सुख, दुःख साट्दै दुई/चार पैसा भए पनि यतै कमाइ हुन्थ्यो । जसले गर्दा दैनिक जीविका त चल्थ्यो नै, आफ्ना सन्तान र परिवारबाट टाढिएर कैयौं टाढा समुद्रपारि पुग्नुपर्ने बाध्यता हुने थिएन ।
तर, बिडम्बना यही बाध्यतामाथि ठगीको घन बजारिदिन्छन् कोही । यसैको उदाहरणको रूपमा लिन सकिन्छ वैदेशिक रोजगार विभागले हालै वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरेका मुद्दा । कानुनविपरीत वैदेशिक रोजगारीमा पठाउने धन्दा चलाउँदै आएको इन्टरनेसनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिविरुद्ध विभागले बिहीबार मुद्दा दायर गर्यो ।
पर्यटन व्यवसाय सञ्चालन गर्न अनुमति पाएको उक्त कम्पनीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने नाममा विभिन्न व्यक्तिहरूबाट डेढ करोड रूपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको पाइएको हो ।
विभागको अनुसन्धानबाट १२२ जनाबाट एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको छ । उक्त कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक पठाउने इजाजत नलिई वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४३ विपरीतको कसूर गरेको अभियोगसहित विभागले न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।
यसैगरी, वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा अर्का दुईजनाविरुद्ध पनि विभागले न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ । बिहीबार दायर गरिएको उक्त मुद्दामा कास्कीकी सदीक्षा गुरुङ र उनकी आमा खिनसोभा गुरुङले एक व्यक्तिबाट ४१ लाख ५० हजार रूपैयाँ ठगी गरेको उल्लेख छ ।
विभागका अनुसार विभागमा परेको जाहेरीमाथि अनुसन्धान गर्नेक्रममा अभियुक्त सदीक्षा गत चैत २४ गते पक्राउ परिसकेकी छन् । सदीक्षा र खिनसोभाले पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने नाममा ४१ लाख ४२ हजार ५०० रूपैयाँ रकम लिएर ठगी गरेको विभागको अनुसन्धानले ठहर गरेको छ ।
विभागले ठगीको रकममा २० लाख ९१ हजार २५० रूपैया“ हर्जनासहित ६२ लाख ७३ हजार ७५० रूपैयाँ असुल तथा कानुनबमोजिम कारबाही गर्नुपर्ने मागदाबीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।
विभागले वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा जेनिअस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिसेस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । शुक्रबार दायर गरिएको मुद्दामा भट्टराईसहितका अभियुक्तहरूले युरोपका पोर्चुगल, स्पेन, फ्रान्सलगायतका मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब तीन करोड रूपैयाँ ठगी गरेको विभागले उल्लेख गरेको छ ।
यसरी वैदेशिक रोजगारमा जान चाहनेहरूलाई ठगी गर्नु कानुनी रूपमा दण्डनीय त हुँदै हो, यो अपराध पनि हो । यस्ता अपराध कर्म गर्नेलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनैपर्छ । वैदेशिक रोजगारमा पठाउने नाममा कुनै पनि प्रकारको ठगीधन्दा चलाउनु अक्षम्य हो । यसमा सरकार, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधिकरण सचेत बन्नैपर्छ । केही व्यक्तिको अपराधकर्मका कारण सिंगो वैदेशिक रोजगार व्यवसाय बदनाम हुनु हुँदैन । हुन दिनु हुँदैन ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ ०८:५७