काठमाडौं– दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध सानदार जित निकालेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो ।
जिम्बावेले दिएको ८८ रनको लक्ष्य नेपालले ११ ओभर २ बलमा १ विकेटको क्षतीमा ८९ बनाउदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । त्यस्तै अर्का ओपनर आसिफ शेखले अविजित ३४ रन जोडे । विनोद भण्डारी ४ रनमा अविजित रहे । जिम्बावेका ब्राण्डन माभुताले १ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपाली बलरको किफायती बलिङ गरेको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० तथा लुक जोग्वेले ८ रन बनाए ।
नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । जिम्बाबेले एक विकेट रनआउटबाट गुमाएको थियो ।यस जितसँगै नेपालले पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो ।
नेपालले तीन खेलको सिरिजमा १–१ को बराबरी समेत गरेको छ । अन्तिम तथा तेस्रो एकदिवसीय सोमबार हुनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ ०९:०७