कञ्चनपुर–कञ्चनपुर आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरका ९ वटै पालिकाका लागि निर्वाचन सामग्री तयार गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ९ वटै पालिकाका लागि मतपत्र रुजु गरेर तयारी अवस्थामा राखिएको बताए ।
‘मतपत्र र मतपेटिका सम्बन्धित पालिकाका लागि छुट्याएर राखेका छौं ।’ उनले भने, ‘मतपत्र, मतपेटिका र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पठाउने काम भइरहेको छ । ३ लाख १ हजार १५० मतपत्र रुजु गरी मिलाएर राखेका छौं ।’
अहिलेसम्म निर्वाचनको काम द्रुतगतिमा अघि बढेको अधिकृत धामीले बताए । यहाँका पालिकामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
निर्वाचन भयरहित वातावरणमा सम्पन गर्न झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए । निर्वाचनका बेला हुन सक्ने सम्भावित आपाराधिक गतिविधि नियन्त्रण गर्न निर्वाचन सुरक्षा निकायले जिल्लाभर सुरक्षा सर्तकता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनको ४८ घण्टा अघि नेपाल(भारत सीमा बन्द हुने भएको छ । निर्वाचनका लागि कञ्चनपुरमा ३४१ मतदान केन्द्र तोकिएको छ । यहाँ कूल मतदाताको संख्या २ लाख ९५ हजार ३५४ रहेका छन् ।
निर्वाचन सम्पन्न गर्न यहाँको भीमदत्त नगरपालिकामा मुख्य निर्वाचन अधिकृत र बाँकी ८ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ १२:५६