काठमाडाैं - महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाडाैं स्थित होटल हुकुम दरबारमा मर्जर कमिटी गठन बारे छलफल गरी महालक्ष्मीले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको हाे ।
होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका हुन् । कम्पनीका अध्यक्षले पानसमा वत्ती बालेर उद्घाटन गरेका सभामा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पारेका थिए ।
सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो ।
सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९ २०:२४