काठमाडौं– तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी मृतावस्थामा भेटिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताएका छन् ।
उनका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।
प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताए।
उनले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिएका छन् । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएको थियो।
१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएको थियो ।
बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३औँ सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेको थियो । उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकि थिईन्।
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९ १३:५७