डोटी – आसन्न स्थानीय तहको निर्वाचनका लागि डोटी जिल्लाका सबै मतदान केन्द्रहरूमा मतपत्रसहितका निर्वाचन सामग्री पुर्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मंगलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित ७ गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सामग्री प्रदान गरी पठाइएको र केही ठाउँमा मंगलबार पुगेका र दुर्गम ठाउँमा आज पुगिसक्ने जानकारी दिए ।
मतदानस्थलमा नेपाली सेना, म्यादीसहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोली पनि पुगिसकेका छन् । निर्वाचनका लागि ९ पालिकामा ११५ मतदानस्थल तथा मतदान केन्द्र तोकिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मीबाहेक सातजना कर्मचारी खटिनेछन् । एउटा केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारीको प्रबन्ध गरिएको छ । त्यसैगरी मतदान अधिकृतले तीनजना स्वयंसेवक नियुक्त गर्न सक्नेछन् ।
निर्वाचनमा खटिएका मतदान अधिकृत लगायतका सबै कर्मचारीले नियुक्तिपत्र र निर्वाचन सुविधासमेत मंगलबार बुझेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आसन्न निर्वाचनमा जिल्लामा १ लाख २३ हजार ५५३ मतदाता छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १३:३८