काठमाडौं– सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् ।
बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणनास्थल तयार पारिएको छ ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्नका लागि मतगणनास्थल तयार गरिएको छ । सभाहलमा तारजाली लगाइएको छ भने सिसी क्यामेर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।
यस्तै जैमिनी नगरपालिकाले नगरपालिकाको वडा नं १ को सभाहलमा मतगणनास्थलको तयारी गरेको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिए । उनले मतगणनास्थलमा सिसी क्यामेरा जडान र तारबारको व्यवस्था मिलाएको बताए ।
यस्तै गलकोट नगरपालिकामा मतगणनाका लागि पुरानो गलकोट माध्यमिक विद्यालयको भवनमा मतगणनास्थल तयार पारिएको छ भने ढोरपाटन नगरपालिकाले बुर्तिबाङस्थित उत्तरगङ्गा माध्यामिक विद्यालयको भवनमा मतगणनाको तयारी गरेको छ । दुवै मतगणनास्थलमा सिसी क्यामेरासहित बलियो गरी तारबार लगाइएको छ ।
यस्तै तमानखोला गाउँपालिकामा मतगणनाको लागि स्थलको तयारी पूरा गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि तारजालीसहित सिसी क्यामेराको व्यवस्था मतगणनास्थलमा गरिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानेले जानकारी दिए।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १६:३१