स्थानीय तह निर्वाचन आउन अब मात्र दुई दिन बाँकी छ । वैशाख ३० गते शुक्रबार मतदान हुँदै छ । मंगलबार मध्यरात १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । मौन अवधिमा निर्वाचन प्रचारका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुको निर्वाचन लक्षित कार्यक्रम रोकिएका छन् । निर्वाचन आयोगले यस अवधिमा निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधि गरे तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।
आचारसंहिता विपरीतका कुनै पनि गतिविधि नगर्न आयोगले सचेत गराउँदै आएको छ । त्यसो त यसपालिको निर्वाचनमा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेका छैनन् । केही स्थानमा दुईपक्षबीच झडपका घट्ना भए पनि गम्भीर प्रकृतिका घट्ना नभएको गृह मन्त्रालयको भनाइ छ । सरकारले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चारवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग)लाई परिचालन गरेको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले सरकारले तोकिदिएको जिम्मेवारीअनुसार कर्मचारी खटाएको छ ।
विगतलाई हेर्दा निर्वाचनलाई प्रभावित पार्ने अवाञ्छित गतिविधि मौन अवधिमा हुने गरेको छ । त्यसैले यो बेला सुरक्षा चुनौती हुने गर्दछ । मौन अवधिमा मतदातालाई अनुचित प्रलोभन, डर, धाक धम्की देखाउनेलगायतका अवाञ्छित गतिविधि हुने जोखिम रहन्छ । यसतर्फ सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायहरुको ध्यान जान जरुरी छ ।
मतदान गर्ने दिन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातिएको छ । मतदाताहरु मतदानका लागि उत्साहित देखिएका छन् । मतदानका लागि उत्साहका साथ मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रमा फर्कने लहर केही दिनयता ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका अधिकांश मतदाताहरु आ–आफ्नो मतदाता नामावली भएको ठाउ“मा फर्किएस“गै सहरी क्षेत्रको भीडभाड पातलिँदै गएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले दैनिक उपत्यकामा आउनेभन्दा बाहिरिने बढिरहेका छन् । यो क्रम वैशाख लागेदेखि नै सुरु भएको र हाल झनै बढिरहेको छ । औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेको ट्राफिक प्रहरीको अनुमान छ । कार्यालयका अनुसार सोमबारको तथ्यांक हेर्दा उपत्यकाबाट सात हजार ९११ सवारीमार्फत ५५ हजार ७४६ यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिने संख्या भने ४२ हजार ५४४ छ । अघि–पछि दैनिक भित्रिने र बाहिरिने मानिसको संख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन् । अबको दुई दिन यो क्रम अझै बढ्ने छ ।
मतदाताको यो उत्साहलाई मर्न नदिन निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गरिनु आवश्यक छ । जनताले आफूले रोजेको उम्मेदवारलाई ढुक्कसाथ मतदान गर्न पाउने वातावरण बनाउनुपर्छ । यसका लागि सरोकारवाला सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्छ । निर्वाचन सुरक्षाको पूर्ण प्रत्याभूति गरी मतदाताको उत्साहलाई मर्न नदिऔं । मतदान गर्नबाट कोही मतदाता वञ्चित नहुने वातावरण सिर्जना गरौं ।
प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९ १८:०३