भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार रातिदेखि मौन अवधि लागू गरिसकेको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । मतदान केन्द्रको ३०० मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन निर्देशिकामा उल्लेख छ ।
यो अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको छ । निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन ।
तर, यो कुरा कार्यान्वयन भएको देखिएन । विभिन्न राजनीतिक दलका शीर्ष तहकै नेता, कार्यकर्ता, शुभेच्छुक, उम्मेदवारका शुभेच्छुकहरू सामाजिक सञ्जालमार्फत् भटाभट भोट मागिरहेका छन् । मतदाताको घरदैलोमा पुगेर मतदातालाई दबाब दिने, प्रभाव पार्ने र अनुचित लाभका लागि प्रलोभन र धम्की दिने गरेका घटना बाहिरिएका छन् । कतिसम्म भने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मत मागेको भिडियो नै सामाजिक सञ्जालमा राखे ।
तर, मौन अवधिको उल्लंघन गरेको भनेर व्यापक आलोचना भएपछि उनले त्यसलाई हटाए ।उनी एउटा उदाहरण मात्र हुन् । प्रविधिको विकाससँगै धेरैले सामाजिक सञ्जालमार्फत् मत मागिरहेका छन् । पैसा तिरेर ‘बुस्ट’ गरिएका सामग्री अहिले पनि सर्वत्र छन् । आयोगले मौन अवधिको उल्लंघन गरे कारबाही गर्ने त भनेको छ तर, अहिलेसम्म कसैलाई कारबाही गरेको छैन । त्यसले पनि मानिसहरूमा हौसला बढेको हुन सक्छ । त्यसकारण आयोगले यस्ता आचारसंहितालाई ‘कर्मकाण्डी’ बनाउनु हुँदैन ।
नेपालमा संविधानसभाबाट संविधान जारी भएपछि दोस्रोपटक स्थानीय निर्वाचन हुँदै छ । आवधिक निर्वाचन भनेको लोकतन्त्रको सौन्दर्य हो । अझ स्थानीय तहलाई ‘गाउँका सिंहदरबार’ पनि भन्ने गरिएको हु“दा नागरिकले आफ्नो सरकारको नेतृत्व आफैं चुन्ने अवसर दोस्रोपटक पाउँदै छन् । जुन समय संघारमा छ ।
बितेका पाँच वर्षमा नागरिकले स्थानीय तहलाई आफ्नो सरकारका रूपमा अनुभूत गर्न पाए, पाएनन् ? त्यो समीक्षाको विषय होला । तर, देश संघीयताको अभ्यासका चरणमा रहेकाले केही कमी कमजोरी पक्कै भएका होलान् । ती कमजोरीलाई अबको नेतृत्वले पक्कै सच्याउनेछ । सच्याउनुपर्छ । त्यसकारण पनि मतदाताले योग्य, सक्षम र सफल नेतृत्व चयनका लागि आफ्नो मतको सदुपयोग गर्नुपर्छ ।
यो बेला राजनीतिक दल, उम्मेदवार र तिनका समर्थहरू संयम हुन जरुरी छ । मतदातालाई डर, धाकधम्की वा प्रलोभन देखाउने काम गैरराजनीतिक मात्र होइन, गैरकानुनी पनि हो ।विगतबाट पाठ सिक्दै, सम्भावित सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाउनुपर्छ ।
कुनै अप्रिय घटना नघटोस् भन्नका लागि चनाखो हुनैपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी हुने भएकाले यसमा ध्यान दिनैपर्छ । शान्ति, सुरक्षामा खलल् नपुगोस् भन्नका लागि चनाखो हुनैपर्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९ ११:१८