सप्तरी - सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।
२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।
एक अशक्त मतदाताले मतदानका लागि आग्रह गर्दा मतदान अधिकृतले एउटाको साटो अर्को चिन्हमा मतदान गरेको भन्ने आरोपबाट विवाद शुरु भएको स्राेतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १५:१५