डोटी– डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । ९ वटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो ।
निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २ हजार ३४३ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले १ हजार ६८४ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल) ले २ हजार ४०७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेकी छिन् ।
गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले १ हजार ४७१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले ८३२ मत प्राप्त गरेकी छिन् ।
यसैगरी वडा नं–१ बाट वडाध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं- ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं–२ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं–४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं–५ बाट एमालेकै पदमसिंह बोहरा विजयी भएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९ ११:४०